काठमाडौँ । ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।
राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री ओलीलाई बुझाएका हुन्।
सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बुझाइएको नीतिमा राष्ट्रिय सुरक्षाका पछिल्ला चुनौती र त्यसलाई सम्बोधन गर्न आवश्यक नीतिका बारेमा सुझाव उल्लेख गरिएको उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पोखरेलले जानकारी दिए।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई समेत ध्यानमा राखेर राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि आवश्यक सुझाव दिन उपप्रधानमन्त्री पोखरेल संयोजक रहेको एक समिति गत असोज १ गते गठन गरेको थियो । त्यसअनुसार उपप्रधानमन्त्री पोखरेल संयोजकत्वमा ७ सदस्यीय परिमार्जन समिति गठन गरिएको थियो ।
समितिका सदस्यमा पूर्व महान्यायाधीवक्ता हरि फुयाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राष्ट्रपतिका सामाजिक तथा राष्ट्रिय सल्लाहकार लालबाबु यादव, पूर्व सैनिक अधिकारीहरु बालानन्द शर्मा, पूर्ण सिलवाल र देवेन्द्रबहादुर मेधासी सदस्य थिए भने प्रधान सेनापती, रक्षा सचिव र गृह सचिवहरु आमन्त्रित सदस्यका रुपमा थिए ।
समितिद्वारा प्रधानमन्त्री समक्ष पेस गरिएको उक्त परिमार्जित नीति राष्ट्रिय सुरक्षा परिषदबाट अनुमोदन पछि मन्त्रीपरिषदबाट पारित हुने र कार्यान्वयनमा जानेछ।







