काठमाडौँ । संघीय सरकारको प्रशासनिक पुनर्संरचना अन्तर्गत मन्त्रालयहरूको संख्या घटाइएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्रै सचिव रहने व्यवस्था लागू भएको छ। नयाँ व्यवस्थाअनुसार स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटाले मन्त्रालयको सम्पूर्ण सचिवीय जिम्मेवारी सम्हाल्ने भएका छन्।
सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या २२ बाट १८ मा कायम गरिएसँगै सचिवहरूको दरबन्दी तथा जिम्मेवारी पुनः समायोजन गरिएको हो। यसक्रममा दुई सचिवको दरबन्दी रहेका मन्त्रालयहरूमा एकल सचिवीय नेतृत्वको व्यवस्था लागू गरिएको छ।
स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ छुट्टाछुट्टै सचिव रहने अभ्यास थियो। नयाँ संरचनाअनुसार अब मन्त्रालयको प्रशासनिक व्यवस्थापन, नीतिगत समन्वय तथा प्राविधिक नेतृत्वसम्बन्धी सम्पूर्ण जिम्मेवारी एउटै सचिवअन्तर्गत रहने भएको छ।
प्रशासनतर्फ कार्यरत सचिव डिल्ली शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा उनको औपचारिक बिदाइसमेत गरिएको बताइएको छ।
नयाँ व्यवस्थासँगै मन्त्रालयको समग्र नेतृत्व डा. देवकोटाको काँधमा आएको छ। स्वास्थ्य क्षेत्रका विभिन्न जिम्मेवारीमा काम गरिसकेका डा. देवकोटा स्वास्थ्य क्षेत्र बुझेका र अनुभवी अधिकारीका रूपमा चिनिन्छन्। स्वास्थ्य नीति, सेवा व्यवस्थापन तथा प्रशासनिक नेतृत्वमा उनको अनुभवलाई मन्त्रालयको नयाँ संरचनामा महत्वपूर्ण मानिएको छ।
सरकारले संगठनात्मक पुनर्गठनमार्फत मन्त्रालयहरूको निर्णय प्रक्रिया थप प्रभावकारी, चुस्त र समन्वयात्मक बनाउने उद्देश्य राखेको जनाएको छ। स्वास्थ्य मन्त्रालयमा लागू गरिएको एकल सचिवीय नेतृत्वको व्यवस्था पनि सोही पुनर्संरचनाको हिस्सा हो।







