काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको कोटेश्वरस्थित होटेल ए वान क्याफे एन्ड भेन्युलाई उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको आरोपमा जरिवाना गरेको छ।
विभागले सोमबार गरेको बजार अनुगमनका क्रममा उक्त होटेलको भान्सामा म्याद समाप्त भइसकेका खाद्य सामग्री प्रयोग भइरहेको पाइएपछि कारबाहीस्वरूप २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको हो।
अनुगमन टोलीका अनुसार भान्सामा सिङसुङ डार्क सोया सस, किकुमेन सोया सस र किलोय नामक सामग्री म्याद गुज्रिएको अवस्थामा फेला परेका थिए। ती सामग्री ग्राहकलाई परिकार तयार पार्न प्रयोग भइरहेको पुष्टि भएको विभागले जनाएको छ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम सिर्जना हुने गरी काम भएको ठहर गर्दै उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधानअनुसार कारबाही गरिएको हो।
यसै अनुगमन अभियानअन्तर्गत विभागले काठमाडौँ महानगरपालिका-३२ र ३५ (कोटेश्वर क्षेत्र) मा रहेका कुल ४४ वटा व्यावसायिक प्रतिष्ठान तथा उद्योगहरूको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा होटेल ए वान क्याफे बाहेक अन्य ४३ वटा व्यवसायलाई भने तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
ती निर्देशन प्राप्त गर्ने संस्थाहरूमा फेन्सी स्टोर, मोबाइल पसल, चस्मा तथा आँखा क्लिनिक, बेकरी उद्योग र खाजा घरसमेत समावेश छन्।







