२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनस्वास्थ्यलाई मूल मन्त्र बनाएर उदाहरणीय काम गरिरहेको स्थानीय सरकार

अ+ अ-

ठूल्ठूला महत्वाकांक्षी कुरा नगरी स्रोत-साधनले भ्याउने सम्भव काममा केन्द्रित हुने हो भने स्थानीय सरकारले साँच्चिकै उदाहरणीय काम गर्न सक्छन् भन्ने उदाहरण बनेको ललितपुरको महालक्ष्मी नगरपालिकाले जनस्वास्थ्यमा केही मानक स्थापित गरेको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकाको बीचोबीच भू-भूभाग भन्दा थोरै दक्षिण अनि त्यहाँबाट पूर्वतर्फ पर्छ महालक्ष्मी नगरपालिका । ललितपुर जिल्लाको कुरा गर्ने हो भने त उत्तरपूर्व । नजिकै वनजंगल, हरिया डाँडापाखा अनि केही खोलानालाले यो ठाउँलाई प्राकृतिक रुपमै पनि भिन्न बनाएका छन् । त्यसैले त ‘स्वच्छ, सफा, समृद्ध र सुन्दर नगर’ भन्ने नारा बनाएर महालक्ष्मी नगरपालिका अघि बढेको छ ।

यहाँका साँस्कृतिक र ऐतिहासिक महत्व बेग्लै छन् । मुलुक संघीयताको अभ्यासमा गएसँगै शक्तिशाली स्थानीय सरकार अस्तित्वमा आए । अनि यो पालिकाको नाम पनि अहिले वडा नम्बर ८, भुलुमा पर्ने महालक्ष्मी मन्दिरको नामबाटै राखियो । नाम जसरी राखिएको भए पनि यो पालिकाले दैवी शक्तिको भर गरेर बस्ने होइन, बरु आफ्नो पालिकाका बासिन्दाको स्वास्थ्य सबल बनाउने कामलाई मूल मन्त्र बनाएर अरु धेरैका लागि पनि उदाहरणीय काम गरिरहेको छ ।

स्वास्थ्य संस्थाको बिस्तार र स्तरोन्नती
महालक्ष्मी अर्थात् पूर्वीय मान्यता र परम्परामा ऐश्वर्य र समृद्धिकी प्रतीक मानिने देवी । यही नामसँगै मिल्नेगरी सम्भवत: महालक्ष्मी नगरपालिकाले समृद्धि र विकासलाई आफ्नो मूल लक्ष्य बनाएको हो । र नगरवासी स्वस्थ हुँदा मात्र त्यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने बुझेरै महालक्ष्मीले आफूलाई स्वास्थ्य सेवा सुधारमा केन्द्रित गरेको छ ।

२०७१ मंसिर १६ गते साविकका इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु र लामाटार गाविस समेटेर बनेको १० वडा रहेको महालक्ष्मी नगरपालिकाले नगरपालिकाले स्वास्थ्यका पूर्वाधारसँगै शिक्षा र अरु पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । त्यसमा पनि मुख्यत: स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम गरिरहेको छ । नगरप्रमुख हरिगोविन्द श्रेष्ठ आफू निर्वाचित भएयता स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजनाबद्ध रूपमा काम गरिरहेको बताउँछन् । “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो,” उनले भने, “नागरिक स्वस्थ भए मात्र समृद्धि सम्भव हुन्छ । त्यसैलेस्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।”

नगरपालिकाले स्वास्थ्य सेवामा पहुँच बिस्तारसँगै सेवाको गुणस्तर सुधारमा समेत विशेष ध्यान दिएको छ । अहिलेसम्म स्वास्थ्य संस्थाको विस्तार तथा स्तरोन्नती, घरदैलो स्वास्थ्य सेवा कार्यक्रम, समुदायमा आधारित रोग नियन्त्रण अभियान, स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तन जस्ता कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले यो सँगसँगै स्वास्थ्य संस्थाहरूको गुणस्तर अभिबृद्धि, आपतकालीन तथा महामारी व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेलिरहेको छ । त्यस्तै, आधारभूत स्वास्थ्य सेवा, मातृ–शिशु स्वास्थ्य, डिजिटल स्वास्थ्य प्रणाली, स्वास्थ्य बीमा तथा समुदायमा आधारित स्वास्थ्य सेवा कार्यक्रममार्फत् नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

नगरपालिकाले नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित स्वास्थ्य सेवा दिने संस्थाहरुको बिस्तार तथा स्तरोन्नतीको कामलाई उच्च प्राथमिकतामा राखेको छ । यसअन्तर्गत नगरपालिकाले आधारभूत स्वास्थ्य सेवाको पहुँच सबै वडामा सुनिश्चित गर्न पहल अघि बढाएको छ ।

पहिले नगरपालिकाभित्र पाँच वडामा मात्र स्वास्थ्य संस्था थिए । स्वास्थ्य संस्था नभएका वडा २, ३, ४, ५ र ९ मा अहिले आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी त्यहीँ नै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसले विशेषत: ग्रामीण तथा दुर्गम बस्तीका बासिन्दालाई प्राथमिक स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गरेको नगर प्रमुख श्रेष्ठ बताउँछन् । वडा नम्बर १ मा रहेको इमाडोल स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रूपमा विकास गरिएको छ । केन्द्रमा अहिले चिकित्सकीय सेवा तथा जनस्वास्थ्य प्रयोगशाला सेवाको बिस्तार गरिएको छ । यसले रोगको प्रारम्भिक पहिचान, परीक्षण तथा उपचार सेवालाई अझ प्रभावकारी बनाएको छ ।

वडा नम्बर ७ मा रहेको टीकाथली स्वास्थ्य चौकीमा समेत जनस्वास्थ्य प्रयोगशाला सेवा विस्तार गरिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा टीकाथली स्वास्थ्य चौकीलाई नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने कार्य पनि अगाडि बढाइएको छ । यसले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने नगरपालिकाको आशा छ ।

त्यस्तै, वडा नम्बर ९ मा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी आयुर्वेद स्वास्थ्य सेवा बिस्तार गरिएको छ । यसमार्फत परम्परागत तथा प्राकृतिक उपचार पद्धतिलाई समेत संस्थागत गर्दै वैकल्पिक स्वास्थ्य सेवाको पहुँच विस्तार भएको नगर प्रमुख श्रेष्ठले बताए । श्रेष्ठका अनुसार, नगरपालिकाले पोषणमैत्री स्वास्थ्य संस्था घोषणाको तयारीसमेत अघि बढाइरहेको छ । यो कार्यले मातृ तथा बाल स्वास्थ्यमा सुधार, पोषणको अवस्था सुदृढीकरण र समग्र स्वास्थ्य चेतना अभिबृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

नगरवासीहरूको स्वास्थ्य सुविधालाई थप सहज बनाउन नगरपालिकाले इमाडोलमा रहेको किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ग्वार्कोस्थित बीएन्डबी अस्पताल नक्खुस्थित नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरेर ती अस्पतालबाट उपलब्ध हुने सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । यसले जटिल रोगहरूको उपचारमा नागरिकको आर्थिक भार घटाउन मद्दत गर्ने नगरपालिकाको अपेक्षा छ ।

त्यस्तै, किष्ट मेडिकल कलेज इमाडोलमा राष्ट्रिय क्षयरोग केन्द्रको सहयोगमा क्षयरोग निदानका लागि अत्याधुनिक उपकरण स्थापना गरिएको छ । यसले क्षयरोगको छिटो पहिचान, सही निदान र प्रभावकारी उपचारमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

घरदैलोमै स्वास्थ्य सेवा
महालक्ष्मी नगरपालिकाले नगरबासीलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । विशेषत: ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा नवजात शिशुहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर नगरपालिकाले समुदायमै पुगेर सेवा प्रदान गर्ने अभ्यास गरिरहेको छ ।

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ७० वर्ष भन्दा माथिका व्यक्तिहरूको नियमित स्वास्थ्य परीक्षण, आवश्यक औषधी उपचार तथा स्वास्थ्य परामर्श जस्ता सेवा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा घरमै पुगेर प्रदान गरिन्छ । यसले अशक्त बृद्धबृद्धाहरूलाई स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने कठिनाइ घटाउँदै उनीहरूको स्वास्थ्य अवस्थाको नियमित अनुगमनमा सहयोग पुर्‍याएको छ ।

त्यस्तै, सुत्केरी घर भेट कार्यक्रममार्फत नर्सिङका कर्मचारी घरमै पुगेर नवजात शिशु तथा आमाको स्वास्थ्य परीक्षण गर्ने, आवश्यक औषधी उपचार गर्ने, साथै परामर्श सेवा प्रदान गर्ने काम गरिरहेका छन् । यो कार्यक्रमले सुत्केरी अवस्थामा हुने जटिलता कम गर्न तथा मातृ–शिशु स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । नगरपालिकाले समुदायस्तरमा स्वास्थ्य सचेतना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ८ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका थप गरेको छ । उनीहरूमार्फत समुदायमा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सूचना प्रवाह गर्ने तथा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने काम नियमित रुपमा भइरहेको छ । यसले ग्रामीण तथा शहरी दुबै क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बिस्तार गर्न मद्दत गरेको नगरपालिकाले जनाएको छ ।

घरदैलो स्वास्थ्य सेवाबाट नगरवासी लाभान्वित बनेका छन् । वडा नम्बर ४ की बासिन्दा कल्पना चौधरीले घरमै स्वास्थ्य सेवा प्राप्त गर्दा निकै सहज भएको अनुभव सुनाइन् । एक महिनाकी सुत्केरी चौधरीका अनुसार नगरपालिकाबाट खटिएका नर्सले घरमै आएर उनी र बच्चाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श र औषधीसमेत उपलब्ध गराएका थिए ।
घरदैलोमै स्वास्थ्य सेवा प्राप्त हुँदा पटक–पटक स्वास्थ्य संस्था जानुपर्ने बाध्यता हटेको भन्दै कल्पनाले पालिकाको यस्तो कामबाट आफू धेरै सन्तुष्ट बनेको बताइन् । यस्ता कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच बिस्तार हुनुका साथै नगरबासीमा सकारात्मक प्रभाव परेको नगरपालिकाले जनाएको छ ।

क्षयरोग नियन्त्रणदेखि गुणस्तरीय स्वास्थ्य सेवासम्म
नगरपालिकालाई क्षयरोगमुक्त बनाउन समुदायमा लुकेर बसिरहेका क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने र पूर्णरूपमा निको पार्न जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा पालिका र वडास्तरीय क्षयरोग समिति गठन गरिएको छ । त्यस्तै, उनीहरुलाई बर्षेनी एआई एक्स–रेबाट स्क्रिनिङ गर्ने गरिएको छ । यो अभियानलाई थप प्रभावकारी बनाउन समुदायस्तरमै जनचेतनामूलक कार्यक्रम, घरदैलो पहिचान तथा जोखिम समूहलक्षित परीक्षण जस्ता गतिविधिहरू समेत सञ्चालन गरिएको छ । यसले समयमै रोग पहिचान र नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ ।

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरी एचपीभी–डीएनए टेस्टको लागि पालिकाले सम्बन्धित निकायमा पठाउने गरेको छ । यस कार्यक्रम अन्तर्गत महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षणका लागि प्रोत्साहित गरिनुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान गरी आवश्यक उपचार प्रक्रिया अगाडि बढाउने व्यवस्था मिलाइएको छ । यसले दीर्घकालीन रूपमा महिला स्वास्थ्य सुधारमा टेवा पुर्‍याएको छ ।

नगरपालिकाले ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’ पनि सञ्चालन गरेको छ । यो कार्यक्रम अन्तर्गत प्रत्येक महिना १० वटै वडाका स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ३० वर्ष माथिका मानिसको नसर्ने रोगको स्क्रिनिङ गर्ने, रक्तचाप, मधुमेह लगायतको जाँच गर्ने काम पालिकाले गरिरहेको छ । यस किसिमको नियमित जाँचले उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घ रोगहरूको समयमै पहिचान गरी उपचारमा सहजता ल्याएको छ भने नागरिकमा स्वास्थ्यप्रति सचेतना बढाएको छ ।
नगरपालिका अन्तर्गतका ७ विद्यालयमा विद्यालय नर्सको व्यवस्थापन गरी विधार्थीहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने, किशोर किशोरी स्वाथ्य तथा प्रजनन स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा स्वस्थ व्यवहार अपनाउनका लागि प्रयोगात्मक अभ्यासहरू गराउने कार्य गरेको पालिकाले जनाएको छ । यसले विद्यार्थीमा व्यक्तिगत सरसफाइ, पोषण, मानसिक स्वास्थ्य तथा सुरक्षित व्यवहारबारे ज्ञान बढाउनुका साथै व्यवहारमै सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्‍याएको छ ।

स्वास्थ्य संस्थाको गुणस्तर सुधारको पहल अन्तर्गत स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा मापदण्ड लागू गरिएको छ । त्यसका लागि पालिकाले नियमित सुपरीवेक्षण, अनुगमन तथा अनसाइट कोचिङसमेत गरि रहेको छ । यस प्रक्रियाले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउनुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन मद्दत गरेको छ ।
पालिकाले सिद्धिपुर स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरिरहेको छ । टीकाथली स्वास्थ्य चौकीको पनि आफ्नै भवन निर्माणाधीन छ । लुभु प्राथमिक स्वास्थ्य केन्द्र भवनमा आवश्यक थप पूर्वाधार निर्माण गरिएको छ । त्यस्तै, सबै वडाका स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई सक्रिय पार्न अभिमुखीकरण गराइएको नगर प्रमुख श्रेष्ठ बताउँछन् ।
यसका साथै अतिरिक्त स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि, स्रोत व्यवस्थापन र सेवा विस्तारका लागि पालिकाले निरन्तर पहलहरू गर्दै आइरहेको छ । यसले स्थानीयस्तरमै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

आपतकालीन स्वास्थ्य सेवा र बीमा कार्यक्रम
आपतकालीन तथा महामारी व्यवस्थापनलाई प्रभावकारी बनाउन महालक्ष्मी नगरपालिकाले नगरपालिका तथा वडास्तरीय र्यापिड रेस्पोन्स टिम गठन गरी सक्रिय रूपमा परिचालन गरिरहेको जनाएको छ । सम्भावित स्वास्थ्य संकट तथा महामारीको समयमा छिटो प्रतिक्रिया दिने उद्देश्यले गठन गरिएको उक्त टिमले निगरानी, समन्वय र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै, आकस्मिक अवस्थामा नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले २४ घण्टा नि:शुल्क एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिएको छ । मातृ तथा शिशु स्वास्थ्य, नि:शुल्क औषधि वितरण र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले स्पष्ट नीति तथा लगानी प्राथमिकता निर्धारण गरी कार्यान्वयन गरिरहेको छ । त्यहीक्रममा महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ मा २५ शय्याको प्रसूति अस्पताल निर्माणका लागि केएफडब्लु फाउन्डेसनद्वारा टेन्डर आह्वान गरिएको छ । यसले भविष्यमा मातृ तथा शिशु स्वास्थ्य सेवा थप सुदृढ गर्ने आशा छ ।

नगरपालिकाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत महिनाको एक दिन तोकी स्वास्थ्य संस्थाहरूमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गरेर गर्भको शिशुको स्वास्थ्य अवस्थाको परीक्षण गर्ने गरिएको जनाएको छ । त्यस्तै, आवश्यकताको आधारमा सम्बन्धित उच्चस्तरीय स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था मिलाइएको छ । यसले गर्भवती महिलाको नियमित निगरानी र सुरक्षित मातृत्व सुनिश्चित गर्न सहयोग पुर्‍याएको छ ।

उपमेयर सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत १० वटै वडाका सुत्केरी महिलालाई न्यानो कपडा तथा पोषण सामग्री वितरण गरिएको छ । यस कार्यक्रमले नवजात शिशु तथा आमाको स्वास्थ्य संरक्षणमा सकारात्मक प्रभाव पार्दै आएको छ । साथै, लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको बर्थिङ सेन्टरमा नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको छ जसले प्रसूति सेवा लिन आउने महिलालाई थप सहजता प्रदान गरेको छ ।

सबै, स्वास्थ्य संस्थाहरूमा नि:शुल्क औषधि वितरणको व्यवस्थाका लागि आकस्मिक खरिदबाहेक ई–बिडिङ विधिबाट औषधि तथा औषधिजन्य सामग्री खरिद, भण्डारण तथा संस्थाहरूमा आपूर्ति गर्ने गरिएको छ । अपुग भएका औषधी माथिल्लो निकायबाटसमेत माग गरी नियमित आपूर्ति सुनिश्चित गरिएको नगरपालिकाले जनाएको छ । यसले स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न सहयोग पुर्‍याएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम गरी आवश्यक पूर्वाधार, जनशक्ति तथा औषधि व्यवस्थापन गरेको छ । सो केन्द्रमा सेवाग्राहीको चाप बढ्दै गएपछि इमाडोल स्वास्थ्य चौकीलाई स्वास्थ्य प्रवद्र्धन केन्द्रमा स्तरोन्नती गरी त्यहाँबाट समेत स्वास्थ्य बीमा सेवा सञ्चालन गरिएको छ । यसका साथै, स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता बढाउन १० वटै वडामा स्वास्थ्य बीमा दर्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हालसम्म स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध घरधुरी संख्या १० हजार ५५८ पुगेको छ भने सदस्य संख्या ३३ हजार ७९३ रहेको छ ।

व्यवस्थापन र आपूर्ति प्रणालीमा सुधार
नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा नागरिकको पहुँचमा पुर्‍याउन विभिन्न सुधारात्मक पहलहरूलाई निरन्तर अगाडि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना बताउँछन् । ढुंगानाका अनुसार स्वास्थ्य संस्था व्यवस्थापनलाई व्यवस्थित बनाउने क्रममा स्वास्थ्य संस्थाहरूलाई आफ्नै भवनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । साथै, आफ्नै भवन उपलब्ध नभएका स्थानमा घर भाडामा लिएर भए पनि स्वास्थ्य सेवालाई नियमित, सहज र व्यवस्थित रूपमा सञ्चालन गरिएको छ । यसले सेवालाई निरन्तर गर्न र पहुँच विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको ढुंगानाले बताए ।
‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’ मार्फत नसर्ने रोगहरूको पहिचान, प्रारम्भिक परीक्षण, उपचार तथा आवश्यक व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । यस्तै, ‘उपमेयरसँग सुत्केरी भेटघाट कार्यक्रम’ सञ्चालन गरी सुत्केरी महिलाहरूलाई घरमै पुगेर आवश्यक सहयोग, परामर्श तथा स्वास्थ्य निगरानी प्रदान गर्ने व्यवस्था गरिएको ढुंगानाले बताए । यस कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पारेको नगरपालिकाको दाबी छ ।

औषधि आपूर्ति प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन इ–बिडिङ प्रणालीमार्फत खरिद प्रक्रिया सञ्चालन गरिएको छ । साथै आकस्मिक अवस्थामा आवश्यक पर्ने औषधिको ‘बफर–स्टक’ सुनिश्चित गरी ती औषधिहरू नगरबासी लाभग्राहीहरूलाई नि:शुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले औषधि अभावको जोखिम घटाएको छ भने आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार रिक्त पदहरूमा करार सेवामार्फत तत्काल पदपूर्ति गरिएको र कार्यरत स्वास्थ्यकर्मी तथा जनशक्तिलाई स्वास्थ्य संवेदनशीलता सम्बन्धी नियमित अभिमुखीकरण तथा क्षमता विकास तालिम प्रदान गरिएको छ । स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन, निरीक्षण तथा औषधिको मौज्दात प्रणालीलाई व्यवस्थित गर्ने कार्यहरू पनि निरन्तर भइरहेको छ ।
त्यस्तै, डिजिटल प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा डाटा–बेस्ड डिसिजन मेकिङ (तथ्याङ्कमा आधारित निर्णय प्रक्रिया) लाई अझ प्रभावकारी बनाइएको छ । बिरामीको विवरण, उपचार प्रक्रिया तथा सेवा उपयोगसम्बन्धी तथ्याङ्कलाई एकीकृत रूपमा व्यवस्थापन गर्दा योजना तर्जुमा, स्रोत विनियोजन तथा नीति निर्माणमा सहजता आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्वास्थ्य ड्यासबोर्डमार्फत कति नागरिकले सेवा लिए, कुन औषधिको माग बढी छ र कुन क्षेत्रमा स्वास्थ्य सेवा विस्तार आवश्यक छ भन्ने कुराको प्रत्यक्ष निगरानी गरिरहेको ढुंगानाले बताए । यसले स्थानीय तहको स्वास्थ्य प्रणालीलाई अझ जवाफदेही, पारदर्शी र तथ्यमा आधारित बनाएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले जानकारी दिए ।

अन्त्यमा,
महालक्ष्मी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई आफ्नो विकासको केन्द्रबिन्दु बनाउँदै ‘स्वच्छ, सफा, समृद्ध र सुन्दर महालक्ष्मी नगर’ भन्ने दीर्घकालीन लक्ष्यतर्फ उल्लेख्य उपलब्धि हासिल गरेको छ । स्वास्थ्य संस्थाको विस्तार तथा स्तरोन्नती, घरदैलो स्वास्थ्य सेवा, आपतकालीन एम्बुलेन्स सेवा, विशेषज्ञ अस्पतालहरूसँगको सहकार्य, डिजिटल स्वास्थ्य प्रणालीको प्रयोग तथा स्वास्थ्य बीमा कार्यक्रमको विस्तारले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
नगरपालिकाले विशेष गरी मातृ–शिशु स्वास्थ्य सुधार, नसर्ने रोगहरूको समयमै पहिचान तथा उपचार, क्षयरोग नियन्त्रण अभियान र पोषणमैत्री स्वास्थ्य संस्थाको अवधारणामार्फत समुदाय स्तरमै स्वास्थ्य चेतना अभिवृद्धि गर्ने कामलाई प्रभावकारी रूपमा अघि बढाएको छ । घरदैलोमै पुगेर प्रदान गरिने जेष्ठ नागरिक सेवा तथा सुत्केरी घर भेट कार्यक्रमले ग्रामीण तथा शहरी दुवै क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ भने स्वास्थ्यकर्मी र स्वयंसेविकाको परिचालनले स्वास्थ्य सेवाको पहुँच अझ व्यापक बनाएको छ ।

त्यस्तै, स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति प्रणालीको सुधार तथा ई–बिडिङ जस्ता पारदर्शी प्रणालीको प्रयोगले स्वास्थ्य सेवालाई अझ व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाएको छ । स्वास्थ्य ड्यासबोर्ड तथा डिजिटल तथ्याङ्क प्रणालीको प्रयोगले नीति निर्माण र सेवा प्रवाहलाई तथ्यमा आधारित बनाउँदै स्थानीय शासनलाई थप आधुनिक दिशातर्फ अग्रसर गराएको छ ।

यी सबै पहलको सार भनेकै महालक्ष्मी नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी अपनाएको योजनाबद्ध, प्रविधिमैत्री र समुदायकेन्द्रित अभ्यासले नागरिकको जीवनस्तर सुधार गर्न मात्र होइन, दीर्घकालीन रूपमा ‘स्वस्थ नागरिक, समृद्ध नगर’ निर्माण गर्ने दिशामा महत्त्वपूर्ण आधार तयार गरेको छ । महालक्ष्मी नगरपालिकाको यो अभ्यास अरु धेरै स्थानीय तहका लागि अनुकरणयोग्य बन्न सक्छ ।

0 Comments