काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसद खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान धार्मिक स्थलमा उपस्थित भएर आशीर्वाद लिएका हुन्।
दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले भने, “हामी यहाँ कुनै गलत कार्य नगर्ने अठोटका साथ आएको हौँ। जानेर वा नजानेर पनि गलत काम नगरौँ भन्ने मनसायका साथ भगवान् पशुपतिनाथ समक्ष प्रार्थना गरेका हौँ।”
उनले आगामी दिनमा संसदमार्फत हिन्दु राष्ट्रको पुन:स्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने आफ्नो पार्टीको अभिप्राय पनि स्पष्ट पारे।
राप्रपा लामो समयदेखि नेपालको हिन्दु राष्ट्र घोषणाको माग गर्दै आएको छ र सो एजेन्डालाई अघि बढाउँदै सांसदहरूले संसद प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद प्राप्त गरेका हुन्।
पद तथा गोपनीयताको शपथअघि गरिएको यस धार्मिक भ्रमणलाई राप्रपाले आफ्नो राजनीतिक प्रतिबद्धतासँग जोडेर व्याख्या गरेको छ।







