काठमाडौँ। हुम्ला जिल्लाका उच्च हिमाली क्षेत्रमा आइतबार साँझ वर्षासँगै हिमपात भएको छ। जिल्लाका विभिन्न उच्च स्थानमा परेको हिमपातका कारण मौसम चिसिएको स्थानीयले बताएका छन्।
सदरमुकाम सिमकोटभन्दा माथिल्ला क्षेत्रमा उल्लेख्य मात्रामा हिउँ परेको जानकारी प्राप्त भएको छ। सिमकोट बजार क्षेत्रमा परेको हिमपात जम्न नसकेको भए पनि माथिल्लो भेगमा भने जम्ने गरी हिउँ परेको स्थानीयको भनाइ छ।
जिल्लाको नाम्खा, सिमकोट, खार्पुनाथ र चंखेली गाउँपालिकाका उच्च भू-भागमा हिमपात भएको जनाइएको छ। हिमाली क्षेत्रहरूमा हिउँ परे पनि केही अन्य स्थानमा भने वर्षा भएको बताइएको छ।
हालै परेको वर्षाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पानी परेपछि जौ, गहुँ तथा उवा जस्ता बालीको उत्पादनमा सुधार आउने भन्दै किसानहरू उत्साहित भएका छन्।







