काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः सरकारमा आएपछि स्वदेशमै उत्पादन गरिएको ग्यास प्रयोग गर्ने सपना पूरा गर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्ने तयारी थाल्नु र त्यसअनुसार कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्। उनले आफूले पहिलो पटक सरकारको नेतृत्व गर्दा देश नाकाबन्दीको अवस्थामा रहेको र खाना पकाउने ग्याससहित दैनिक जीवनमा प्रयोग हुने इन्धनको अभाव रहेको स्मरण गराएका छन्।
ओलीका अनुसार उक्त कठिन समयमा नेपालीको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले स्वदेशमै ग्यास उत्खनन गरी पाइपमार्फत भान्सामा ग्यास पुर्याउने लक्ष्य व्यक्त गरिएको थियो। सरकारमा रहँदा दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गरिएको र उत्खननसम्बन्धी काम अघि बढाइएको उनले बताएका छन्।
उनले गत वर्ष दैलेख क्षेत्रमा १ खर्ब १२ अर्ब घन मिटर मिथेन ग्यास रहेको पुष्टि भएको, नमुना परीक्षण सफल भएपछि गत मंसिरमै व्यावसायिक उत्पादनको योजनासहित काम अघि बढाइएको दाबी गरेका छन्। तर भदौमा सरकारबाट बाहिरिएपछि उक्त प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
ओलीले फेरि सरकारमा आएपछि स्वदेशी उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गरिने बताएका छन्।







