काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री-वितरण हुँदै आएको ‘चिकमस मिक्स मसला पाउडर’ गुणस्तर न्यून भेटिएपछि तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ। विभागअन्तर्गत अनुगमन टोलीले संकलन गरेको नमुनाको प्रयोगशाला परीक्षणमा उक्त मसला धूलोमा रहेको फफूँदाको मात्रा तोकिएको १० प्रतिशतभन्दा बढी फेला परेको विभागले जनाएको छ। एमएस रूचीका ट्रेड प्रा. लि. आयातकर्ता रहेको उक्त मसला मापदण्डअनुसार नभएको प्रमाणित भएसँगै उक्त खाद्य पदार्थ उपभोगका लागि अनुपयुक्त ठहर गरिएको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०५३ बमोजिम उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम पर्ने देखिएकाले विभागले सम्बन्धित आयातकर्ता कम्पनीलाई उत्पादनको वितरण रोक्न, बजारबाट उठाउन तथा नष्ट गर्न आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। विभागले उपभोक्तालाई यस्तो उत्पादन भेटिएमा प्रयोग नगर्न र नजिकको कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ।
विभागका अनुसार फिर्ता गर्न आदेश दिइएको उत्पादनको ब्याच नम्बर ०७ रहेको छ, जसको उत्पादन मिति साउन २०८२ र उपभोग मिति मङ्सिर २०८३ तोकिएको छ।
यसअघि पनि गुणस्तरहीन खाद्य पदार्थमा कारबाही
खाद्य विभागले पछिल्ला दिनहरूमा गुणस्तरहीन खाद्य सामग्रीबारे कडाइका साथ अनुगमन गर्दै आएको छ। यही क्रममा केही दिनअघि विभागले क्रोसियन्ट र नाग्लो बेकरीमा उत्पादन भएको पफमा ट्रान्स फ्याटको मात्रा मापदण्डभन्दा धेरै फेला परेको भन्दै ती उत्पादन बजारबाट फिर्ता गर्न आदेश दिएको थियो। अनुगमनमा तीव्रता बढेसँगै गुणस्तरहीन वा स्वास्थ्यलाई हानि पुर्याउने खाद्य पदार्थलाई क्रमिक रूपमा रिकल तथा कारबाही प्रक्रियामा ल्याइँदै आएको विभागले जनाएको छ।
अनुगमन थप कडाइतर्फ
विभागले देशभरका उद्योग, भण्डारण र बिक्री केन्द्रहरूमा नियमित अनुगमन तीव्र बनाइएको जानकारी दिएको छ। उपभोक्ताको स्वास्थ्य संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राख्दै बजारमा बिक्री–वितरण हुने खाद्य सामग्रीको गुणस्तर परीक्षणलाई अझ प्रभावकारी बनाइने विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले बताएकी छन्।
विभागले खाद्य व्यवसायीलाई मापदण्डअनुसार स्वच्छता, लेबल, सुरक्षा र गुणस्तर कायम राख्न आग्रह गर्दै, उल्लङ्घन भेटिए कडाइका साथ कारबाही जारी रहने चेतावनी दिएको छ।







