काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा अहिले जस्तो खुलेआम भ्रष्टाचारको काण्डहरू नभएको बताएका छन् ।
मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भए पनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको बताएका हुन् ।
सम्बोधनको क्रममा उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत् खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्तिसमेत जनाए ।
‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँ निरको भ्रष्टाचार ? कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका, विद्युत् बिक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन् त ? अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहिनता, राजनीति, अन्यौलग्रस्त, अराजक यस्तो त थिएन त,’ उनले भने







