काठमाडौँ । कुकुरको छाउराहरुलाई क्रूर तरिकाले बन्धक बनाउन २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले भारतको बिहार स्थित पटना, आत्मामग्न घर भइ हाल काठमाडौँको चौमति बस्ने २८ वर्षीय महमद जुदुल र सोही ठाउँमा २८ वर्षीय महमद नसादलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले आज चौमतिबाट पक्राउ गरेको हो ।
चौमति स्थितमा टहरा भाडामा लिइ फलामे पिँजडामा ३३ वटा कुकुरको बच्चाहरूलाई निर्दयी तवरले बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले कुकुरहरू फेला पारी उद्धार गरेर टिम संकल्प नेपालको जिम्मा लगाएको छ । कुकुरका बच्चा कहाँबाट ल्याइएको हो भन्ने खुलिसकेको छैन ।
उनीहरूलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट पशुपन्छी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।







