काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको बाहिनीपतिको नेतृत्वमा पहिलो पटक नेपाल र चिनको सीमा सुरक्षामा राखिएको दोलखाको विगुमा रहेको सीमास्तम्भको अवलोकन र निरीक्षण भएको छ ।
बागमती प्रदेश प्रमुख सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अन्जनी कुमार पोखरेलको नेतृत्वमा उच्चस्तरीय टोलीले गत शनिवार दोलखाको विगु गाउँपालिका-१ मा रहेको पिल्लर नम्बर ५५ र ५६ को अवलोकन गरेको हो ।
५७ नंको पिलर अलि हाइटमा भएको र हिउँकारण त्यस पिलरमा पुग्न नसकिएकोले त्यो पिलरका बारेमा जानकारी लिइएको थियो ।
सीमास्तम्भको निरीक्षणमा पुगेका डिआइजी पोखरेलले नेपाल-चिन सीमा सुरक्षा सुदृढीकरणमा नयाँ पहल भएको बताए । पिलर सुरक्षाको हिसाबमा बाहिनीपतिको नेतृत्वमा पहिलो पटक सीमा स्तम्भ निरीक्षणको लागि त्यस स्थानमा पुगेको बताए ।
सीमा क्षेत्र सुरक्षाको अवस्था बुझ्न डिआइजी पोखरेल सहित विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओली, सशस्त्र प्रहरी बल दोलखाका प्रमुख डीएसपी सञ्जय अधिकारी, दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेती, समाजसेवी कर्मा शेर्पा, डिलाइट सेक्युरिटीका सञ्चालक अर्जुन बुढाथोकीलगायत सहभागी भएका थिए ।
भ्रमण टोलीले सीमा क्षेत्रमा सुरक्षासम्बन्धी चासो र अवस्थाबारे जानकारी लिँदै आवश्यक समन्वय र सुरक्षालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको थियो ।
स्थानीय प्रतिनिधिहरूका अनुसार, सीमा स्तम्भ क्षेत्रको भौगोलिक अवस्था र सुरक्षाको व्यवस्थापनबारे टोलीले प्रत्यक्ष अवलोकन गरी आवश्यक सुझावसमेत दिएको छ ।
यस अघि सशस्त्र प्रहरी नेपाल ३ नं गढीमाई बाहिनी मुख्यालय मकवानपुरको आयोजनामा चीनसँग जोडिएका स्थानका सीमा सुरक्षा, सीमा क्षेत्रमा अवैध गतिविधिहरू नियन्त्रणको लागि चिनको सीमासँग जोडिएका सिन्धुपाल्चोकका स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको थियो ।
सशस्त्र प्रहरी नेपाल ३ नं गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोखरेलले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा स्थानीय वासिन्दाहरूको समेत सहयोग, समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।







