काठमाडौँ । गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल बिक्री भएको छ ।
तम्घास बिक्री केन्द्रबाट ९५.२६, बलेटक्सारबाट १६९.४६, बाँझकटेरीबाट १४०.२५ र अर्खबंङबाट ११५.६० क्विन्टल गरेर ४२ लाख ९३ हजार ५५० रुपियाँ बराबरको चामल र चिनी बिक्री भएको छ ।
कुल बिक्री भएको ५२०.५७ क्विन्टल मध्ये १५८.५८ क्विन्टल चिनी र बाँकी चामल बिक्री भएको छ । चार प्रकारका चामल मध्ये स्टिम जिरा मसिनो र सोना मनसुली चामल सबैभन्दा बढी बिक्री भएको छ । जिरा मसिनो १२५ र मनसुली १६८ क्विन्टल बिक्री भएको छ । त्यसपछि चिनी बढी मात्रामा बिक्री भएको छ । गुल्मीलाई प्राप्त एक हजार क्विन्टल चामलको कोटा मध्ये ४७९.४३ क्विन्टल अझै बाँकी रहेको खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मीका लेखापाल समेत रहेका राजाबाबु साहले जानकारी दिए ।
उनका अनुसार जिल्लाको कोटा अझै बाँकी रहेकाले छुट सुविधा पनि कायम रहेको छ । संस्थानका चार बिक्री केन्द्र मध्ये बलेटक्सार र बाँझकटेरीबाट सबैभन्दा बढी खाद्यान्न बिक्री भएको छ । सहुलियत पसलबाट दुई लाख ६० हजार २८५ रुपियाँ नागरिकले छुट पाएका छन् । खुद ४० लाख ३३ हजार २६५ रुपियाँको खाद्यान्न बिक्री भएको छ ।
गुल्मीमा संस्थान डेढ दशकपछि २०८० मङ्सिरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रूपमा पुनर्स्थापना भएको छ ।







