काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् ।
कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष उनले सुनाए ।
बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले पछिल्लो पटक पार्टीले नेकपा माओवादी केन्द्र लगायतसँग गर्न लागेको एकताप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।
‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भुसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैँ ओरालो हिँड्दै छन् । त्यसले निकास दिँदैन ।’
एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो रु भनेर प्रश्न गरे ।
‘नेकपा एकीकृत समाजवादी नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो । विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौँ । त्यो के भयो रु,’ भुसालले सोधेका छन्, ‘त्यो पुनर्गठन र रूपान्तरणमा हामीले के गर्यौँ, गरेनौँ भनेर सामान्य समीक्षा समेत नगरेर फेरि त्यहाँ लगेर बुझाउनु भनेको के हो रु’
उनले अहिले हुन लागेको एकताले जनतालाई झुट बोल्ने र धोका दिने काम मात्रै हुने जिकिर गरे ।
‘एकताका लागि बनेको भनेको दस्ताबेज हेरेँ, पढेँ । मुलुकमा आएको यत्रो दबाब, परिवर्तनलाई समेत सामान्य पनि ख्याल नगरी जुन बनाइएको छ, अहिलेको एकताले त्यसलाई बोल्दैन, यस्तो एकताले जनतालाई झुक्क्याउने, झुट बोल्ने मात्रै हुन्छ,’ भुसालले भने ।







