काठमाडौँ । जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच भड्किएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति गरिएको हो ।
सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
धनुषा प्रहरीका अनुसार १४ र १५ भदौमा भएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सबै पक्ष सहमत भएका छन् ।
साथै, कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्ने र त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिमाथि सूक्ष्म निगरानी गरी कानुनी प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, दुवै धार्मिक समुदायका अगुवाहरू सहभागी सर्वपक्षीय बैठकमा विगतमा तेलिया पोखरीको विवाद व्यवस्थापन गर्ने सहमति समेत गरिएको छ ।







