काठमाडौँ । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग लगायतका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन ‘ब्राण्ड्स एण्ड बियोण्ड-२०२५’ आगामी सेप्टेम्बर ४-५ (भदौ १९ र २०) मा ललितपुरको द प्लाजामा हुने भएको छ।
‘ब्राण्ड गफ’ले दोस्रो संस्करणको रूपमा आयोजना गर्न लागेको यस सम्मेलन सन् २०२४ मा पहिलो पटक सम्पन्न भएको थियो। पहिलो संस्करणमा विश्वप्रसिद्ध क्रियटिभ डाइरेक्टर र ब्राण्ड स्ट्राटेजिष्टहरूको उपस्थिति रहेको थियो भने यसपटक पनि अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड र मार्केटिङ्ग क्षेत्रमा अनुभव हासिल गरेका दिग्गज विज्ञहरूको सहभागिता रहनेछ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा दिल्लीका नरेश गुप्ता, मुम्बईका राजेश केभि, दुबईकी सारा फोब्र्स, श्रीलंकाका सोहन धर्मराजा, सिंगापुरका स्टेफन सेवार्ज र बंगलादेशका तफिक मुमद सहभागी हुनेछन्। उनीहरूले पछिल्ला ट्रेण्ड, रणनीति र केस स्टडीमार्फत सहभागीसँग अनुभव बाँड्नेछन्।
दुई दिनसम्म चल्ने कार्यक्रममा आठवटा विषयगत सेसन हुनेछन्। जसमा विश्व ब्राण्डिङ्ग र मार्केटिङ्गका नवीनतम प्रवृत्ति, डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) युगको बजार, नयाँ अवसर र चुनौतीबारे विस्तृत छलफल हुने आयोजकले जनाएको छ। नेपाल विज्ञापन बोर्डको सहकार्यमा हुने यस सम्मेलनमा नेपाली ब्राण्ड क्रियटर्स र मार्केटर्ससँग अन्तरक्रियात्मक सत्र पनि रहनेछ।
ब्राण्ड र मार्केटिङ्ग क्षेत्रमा स्थापित विज्ञदेखि यस क्षेत्रमा प्रवेश गर्न इच्छुक नयाँ पुस्तासम्मलाई एउटै मञ्चमा ल्याउने लक्ष्यसहित आयोजना गरिएको यस सम्मेलनले नेपाली बजारमा नयाँ सम्भावना र अवसरको ढोका खोल्ने आयोजकको विश्वास छ। सम्मेलनमा अनौपचारिक छलफल कार्यक्रमहरू समेत रहने भएकाले अन्तर्राष्ट्रिय तथा स्थानीय विज्ञबीच नेटवर्किङ्ग र सहकार्यका सम्भावना बढ्ने आयोजकले उल्लेख गरेको छ।
कार्यक्रममा सहभागी हुनका लागि दर्ता खुला गरिएको छ। इच्छुकहरूले ब्राण्ड्सएण्डबियोण्ड डट ब्राण्डगफ डट कम मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।







