भोजपुर । स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा प्रवाहमा समस्या भएको छ । सर्भर नचल्दा सेवाग्राही घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था छ ।
यति बेला स्थानीय तहका वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व संकलनलगायत काम गरिरहेका छन् । तर सर्भर नचल्दा सेवाग्राही तथा कर्मचारीले हैरानी भोग्नुपरेको छ । सर्भरका कारण सेवा प्रवाहमा समस्या भएपछि भोजपुर नगरपालिका-५ बोखिमले बिहान कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ ।
बिहान दुई दिन जति राम्रो ढंगले सेवा दिएको भए पनि पछिल्लो समय सर्भरमा त्यही समस्या देखिएको वडा सचिव अभिनास राईले जानकारी दिए । सेवा प्रवाहका क्रममा दैनिक जसो सर्भर नचल्दा सेवाग्राही मारमा पर्ने गरेका उनको भनाइ छ । “अहिले वडा स्तरमा सर्भरमार्फत गर्ने कामको चाप छ, बिहान राम्रो चल्छ कि भनेर कार्यालय खोलेर सेवा प्रवाह गर्दै आएका छौँ । केही दिन त राम्रै चल्यो, अहिले फेरि उस्तै समस्या छ । सर्भर नचल्दा दुईचार मिनेटमा हुने कामको लागि घण्टौँ लाग्ने अवस्था छ ।”
वडामा सामाजिक सुरक्षा भत्ता लिने तीन सय ५२ लाभग्राहीमध्ये बिहान सेवा सञ्चालन गरेर एक सयका हारहारीको नवीकरण सम्पन्न भएको वडा सचिव राईले बताए । प्राय: सबै स्थानीय तहमा सर्भर नल्दा सेवा प्रवाहमा समस्या भएको उनले जानकारी दिए । सर्भरमा समस्या आएर सेवा प्रवाहमा कठिनाइ भएपछि नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले बिहान पनि कार्यालय सञ्चालनमा ल्याएको भोजपुर नगरपालिका-५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताए ।







