काठमाडौँ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयन र प्रभावकारिता विषयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको अन्तर-प्रदेश अनुभव आदानप्रदान पोखरामा सम्पन्न भएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको आयोजना एवम् स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सहजीकरणमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीसहित मन्त्रालयका सचिव एवम् अन्य कर्मचारीको सहभागिता थियो ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठकले डिजिटल हेल्थ, अस्पतालको सुदृढीकरण र मानसिक स्वास्थ्य समस्याको क्षेत्रमा गण्डकी प्रदेशले गरिरहेको कामबारे जानकारी गराए । गण्डकीमा गरिएको स्वास्थ्य क्षेत्रको काम संघीय सरकारका लागि सिकाइ हुने भए पनि त्यसको बेवास्ता हुने गरेको उनले बताए ।
केन्द्रले पर्याप्त अधिकार नदिए पनि गण्डकीले स्वास्थ्य सुधारका लागि नीति, कानुन र संरचनागत कुरामा टेकेर अल्पकालीन, मध्यम कालिन र दीर्घकालीन योजना अघि सारेर काम गरिरहेको मन्त्री पाठकको भनाइ छ । अस्पताल आर्थिक रूपमा आत्मनिर्भर भएर राज्यलाई पनि योगदान गर्न सक्ने कुरालाई दृष्टिगत गरी गण्डकी प्रदेशबाट त्यसको सुरुआत गरिएको उनले बताए।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री सारुले गण्डकीले गरेको डिजिटल हेल्थ लुम्बिनीका लागि महत्त्वपूर्ण सिकाइ भएको बताए । यस किसिमका असल अभ्यासलाई प्रदेशबीच एकापसमा आदानप्रदान गर्नसके प्रदेश स्थापनाको औचित्य थप प्रमाणित गर्न सकिने उनले बताए । हाम्रो समाजमा नकारात्मक सोच बढिरहेको उल्लेख गर्दै मन्त्री सारुले त्यसले समाजलाई विखण्डित बनाएको बताए । मानसिक स्वास्थ्यका क्षेत्रमा लगानी बढाउनुपर्ने उनको सुझाव छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री भण्डारीले प्रदेशले स्वास्थ्यका क्षेत्रमा गरेको विकासले प्रदेशको औचित्यलाई प्रमाणित गराएको बताए । मनोसामाजिक परामर्शका क्षेत्रमा प्रदेशले पर्याप्त लगानी गर्न नसकेको जिकिर गर्दै उनले यसतर्फ गम्भीर बन्न आग्रह गरे । गण्डकीले स्वास्थ्य क्षेत्रमा गरेको राम्रो अभ्यासलाई अनुकरण गर्ने मन्त्री भण्डारीको भनाइ थियो ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले नेपालमा मानसिक स्वास्थ्यको समस्या र समाधानका उपायबारे प्रस्तुतीकरण गर्दै अपांगता गराउने प्रमुख १० समस्यामध्ये चार वटाले मानसिक स्वास्थ्य समस्या पर्ने बताए । उनका अनुसार गत आर्थिक वर्षमा सात हजार २२३ व्यक्ति (प्रति एक लाखमा २५ जना)ले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८१/८२ को जेठ सम्ममा नेपालमा ६ हजार ८६ जनाले आत्महत्या गरेकामा ५६७ जना गण्डकी प्रदेशका रहेका उनले जानकारी दिए ।
सात प्रदेशमध्ये सबैभन्दा कम आत्महत्या दर (प्रति एक लाखमा १९ जना) कर्णालीमा रहेको सो अवसरमा जानकारी गराइयो । गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्वबन्धु बगालेले अन्तर प्रदेश अनुभव आदान प्रदानले एकापसका असल अभ्यासलाई अनुकरण गर्न सहयोग पुग्ने धारणा राखे। लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका शैलेन्द्रकुमार पाण्डेले लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्याको अवस्था, मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना र केही महत्त्वपूर्ण उपलब्धि लगायतका विषयमा प्रकाश पारे ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले डिजिटल गण्डकी, मानसिक स्वास्थ्य प्रोफाइललगायत गण्डकी प्रदेशमा मानसिक स्वास्थ्यका क्षेत्रमा गरिएका सकारात्मक अभ्यास र चुनौती, समाधानका प्रयासबारे जानकारी गराए । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले गण्डकीले डिजिटल हेल्थमा गरेको प्रयासको सराहना गर्दै असल अभ्यासको अनुकरणसँगै एकताबद्ध प्रयासमा जोड दिए । सिएमसीका प्राविधिक निर्देशक डा. पशुपति महतले मानसिक रूपमा स्वस्थ मानिसले चाहेको काम गर्न सक्ने बताउँदै तीनवटै प्रदेश मिलेर अघि बढेमा मानसिक स्वास्थ्यमा राम्रो उपलब्धि हासिल हुने धारणा राखे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका बृषबहादुर शाही, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका महाशाखा प्रमुख डा. रमेशकुमार केसी, बुद्धि सागर अधिकारीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।







