काठमाडौँ । नगर सभा १७ औ अधिवेशन दोस्रो बैठकमा नगर सभा सदस्य शर्मिला परियारले आफ्नो सम्बोधनका क्रममा उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर-२०२५ मा छनोट भएको भन्दै सबै नगर सभा सदस्यलाई उठेर बधाई दिन आग्रह गरिन् ।
उनले ‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगरसभाबाट किन बधाई नभन्ने’ भन्दै यस सभाले हार्दिक बधाई ज्ञापन गदर्छ भनिन् । उनले त्यसो भनेपछि सबै नगर सभा सदस्यहरू उठेका थिए भने मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरेका छन् ।
सुरुमा बसेरै ताली बजाएका मेयर साहले उठेर ताली बजाए । त्यसपछि फेरि परियाले उपप्रमुखले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुशी व्यक्त गरिन् ।
संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी थिइन् ।
डंगोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् । डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका थिए ।
वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा हजारौँले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन् ।







