काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा निजी तथा सार्वजनिक सवारीसाधनका लागि समय तालिका निर्धारण गरेको छ ।
जिल्ला सुरक्षा समितिको आजको बैठकले भोलिदेखि लागू हुने गरी सात दिनसम्म अत्यावश्यकबाहेकका सार्वजनिक/निजी यात्रुवाहक सवारीसाधनका लागि समय तालिका निर्धारण गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
यस वर्षको मनसुन सक्रिय अवस्थामा रहेकाले बर्सातको समयमा सुरक्षा संयम अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारीसाधनमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको एक सूचना जारी गरी उनले जानकारी दिएका हुन्।
सूचनामा काँहुखोलादेखि सिक्लेस जाने सवारीसाधन साँझ ५:०० बजेभित्र प्रस्थान विन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने भनिएको छ । यस्तै, सिक्लेसदेखि काँहुखोला जाने सवारीसाधन बिहान ५:०० बजेपछि प्रस्थान विन्दुबाट गन्तव्यस्थलको लागि छुट्नुपर्ने छ ।
विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी र काँहुखोलादेखि ताङतिङसम्म आवतजावत गर्ने सार्वजनिक/निजी यात्रुवाहक सवारीसाधन सञ्चालनका सम्बन्धमा यसअघि असार २५ गतेदेखि १५ दिनका लागि जारी गरिएको सूचना यथावत् रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उक्त सूचनामा घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडक (वीरेठाँटी-घान्द्रुक, वीरेठाँटी-उल्लेरी र लुम्ले-लान्द्रुक) मा सञ्चालित सवारीसाधनले बिहान ५:०० बजेपछि मात्र प्रस्थान गर्न पाउने र साँझ ५:०० बजेभित्र आफ्नो प्रस्थान विन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्ने भनिएको थियो ।
यस्तै, काहुँखोलाबाट ताङ्तिङ जाने सवारीसाधनले बिहान ५:०० बजेपछि मात्र यात्रा सुरु गर्न सक्ने र साँझ ४:३० बजेभित्र प्रस्थान बिन्दुबाट छुटिसक्नुपर्ने तालिका निर्धारण गरिएको थियो ।







