काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका ३० वर्षीय नारायण लाम्तांगेलाई मंगलवार पक्राउ गरेको हो ।
सजुले सर्बिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रुपैयाँ र नारायणले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







