काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११४ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
लोक सेवा आयोगबाट सिफारिस भई अतिरिक्त समूहमा रहेका ३९औँ आधारभूत प्रशासन प्रशिक्षण प्राप्त अधिकृतहरूलाई सरुवा तथा कार्यक्षेत्रमा खटाइएको हो ।
यीमध्ये ४५ जनालाई गृह मन्त्रालयमा पठाइएको छ भने बाँकी ६९ जनालाई स्थानीय तहमा खटाइएको छ । गृह मन्त्रालयमा पठाइएकाहरू लोक सेवा आयोगको क्रमसङ्ख्या १ देखि ४५ सम्मका छन् । स्थानीय तहमा खटाउँदा रोजाइका आधारमा व्यवस्था गरिएको मन्त्रालयले प्रशासन सिहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ ।
प्रशासन शाखा प्रमुख कमल भट्टराईले हालको सरुवामा स्थानीय तहलाई प्राथमिकता दिइएको बताएका छन्। स्थानीय तहमा गुनासो रहँदै आएको निमित्तको समस्या समाधान गर्ने गरी कन्मर्फ प्रमुख प्रशासकीय अधिकृत खटाएर सेवा प्रवाहमा सहजता ल्याउन खोजिएको उनको भनाइ छ।
सचिव रविलाल पन्थले सरुवालाई निष्पक्ष र विवादरहित बनाउन लोक सेवा आयोगको योग्यताक्रमलाई आधार बनाइएको बताए । उनले प्रशासन सिहदरबार विशेष ब्युरोसँग भने, “गृह मन्त्रालयको मागअनुसार क्रमसङ्ख्या १ देखि ४५ सम्मका शाखा अधिकृतलाई गृहमा पठाएका छौँ, बाँकीलाई रोजाइका आधारमा स्थानीय तहमा खटाएका छौँ ।”
सचिव रविलाल पन्थले लोक सेवा आयोगको मेरिटलाई ६० प्रतिशत र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को मेरिटलाई ४० प्रतिशत भार दिएर तयार गरिएको संयुक्त मेरिटका आधारमा सरुवा गरिएको बताए ।
मुख्यसचिव एकनारायण अर्यालले केही दिनअघि सेवाग्राहीको चाप बढी हुने निकायहरूमा कर्मचारी व्यवस्थापन गर्दा विवादरहित रूपमा खटाउन सचिव पन्थलाई निर्देशन दिएका थिए । उनले कसैको भनसुन नसुनी लोक सेवाको मेरिट र कर्मचारीको रोजाइका आधारमा सरुवा गर्न जोड दिएका थिए ।
सोही निर्देशनअनुसार मन्त्रालयले विवादरहित ढङ्गले पदस्थापन र सरुवा गरेको जनाएको छ ।
सूची :







