काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताएका छन् ।
आज अर्घाखाँचीको डिभिजन वन कार्यालयअन्तर्गतको डिभिजन वन नर्सरी, रुब्दीको अवलोकनपश्चात् उनले वृक्षारोपण मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितामा ध्यान दिनुपर्ने बताए । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “वनमा खेर जाने पातपतिंगर र झार संकलन गरेर प्रांगारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ । यसले वन व्यवस्थापनमा योगदान पुग्नुका साथै डढेलो नियन्त्रणमा सघाउ पुर्याउँछ ।”
उनले सामुदायिक वनलाई प्रांगारिक मल उत्पादनमा सक्रिय बनाइ कृषि क्षेत्रसँग जोड्न सकिए यसले प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई थप टेवा पुर्याउने बताए । वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभई उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा बिस्तार गर्ने खालका कार्यक्रम आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षारोपण गर्ने लक्ष्यअनुसार काम भएको छ । साउन १४ गतेसम्म करिब एक लाख बिरुवा वितरण भइसकेको उनले जानकारी दिए ।
हाल जिल्लाभित्र छ वटा नर्सरीमा एक लाख ६३ हजार वर्षे र बहुवर्षे बिरुवा तयारी अवस्थामा रहेको डिभिजन वन प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । डिभिजन वन कार्यालयले तेजपात र टिमुरको खेती बिस्तारको अभियान थालेको उनले बताए ।
हालसम्म टिमुरका २० हजार ५०० र तेजपातका १२ हजार ९०० बोट रोपण गरिएको र यो अभियान साउन १४ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । बिरुवा रोपिएका क्षेत्रहरूको प्रभावकारी अनुगमनका लागि ‘जिपिएस लोकेसन’ प्रणालीमार्फत निगरानीको व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ ।







