ल्हासा । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाली महावाणिज्यदूतावास, ल्हासा र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रूपमा आयोजित नेपाल र सिजाङका भगिनी शहरहरूबीचको समन्वय तथा अनुभव आदान-प्रदान बैठक २०२५ जुन २४ (असार १०) मा ल्हासास्थित साङ्ग्रिला होटलमा सम्पन्न भएको छ।
सन् १९९९ मा बनेपा र सिगात्से नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएदेखि सुरु भएको यो सम्बन्धको २५औँ वर्षगाँठको अवसरमा आयोजित ऐतिहासिक कार्यक्रममा लिन्ची-पोखरा, ल्हासा-काठमाडौँ, सान्नान-भक्तपुर, कारुऔ-जिरी, नाक्चु-टोखा र सिगात्से-भरतपुरबीचको सम्बन्धलाई समेटिएको थियो। धुलिखेल र अली प्रिफेक्चरबीच सम्बन्ध स्थापनाको प्रक्रिया पनि अगाडि बढेको छ।

सिजाङ सरकारका उपाध्यक्ष झाओ पिंगले उद्घाटन सत्रमा यो कार्यक्रमले नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। मेयर आचार्यले चिनियाँ पक्षको न्यानो आतिथ्य र सहयोगी भावनाको प्रशंसा गर्दै साझा भविष्य निर्माणमा सक्रियताको कदर गरे। बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालले पर्यटन, संस्कृति, शिक्षा, व्यापार र प्रविधिमा सहकार्यको सम्भावनामाथि प्रकाश पारे।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको नेतृत्वमा बागमती प्रदेश सरकार, काठमाडौँ, पोखरा, भरतपुर महानगरपालिका तथा धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुर नगरपालिकाका प्रतिनिधिसहित २१ जनाको नेपाली टोली सहभागी थियो। सिजाङबाट ल्हासा, सिगात्से, लिन्ची, नाक्चु, सान्नान, कारुऔ नगर र अली प्रिफेक्चरका प्रतिनिधिहरूले भाग लिए।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले यो कार्यक्रमले भगिनी शहरहरूबीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताए। कार्यक्रममा धुलिखेल र अली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापनाको आशय पत्रमा हस्ताक्षर भएको छ।
नेपाली सहभागीहरूले भगिनी शहर सम्बन्धले दुई देश र जनताबीचको सम्बन्धलाई गहिरो बनाउँदै अर्थपूर्ण परिणाम ल्याउने विश्वास व्यक्त गरेका छन्।








