दैलेख l कर्णाली प्रदेश सरकारद्वारा असार १५ गते (शनिबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिए पनि दैलेखको महाबु गाउँपालिका भने उक्त दिन नियमित रूपमा संचालनमा रहने भएको छ।
महाबु गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को भुक्तानी कार्यसम्पादन गर्नुपर्ने भएकाले गाउँपालिका कार्यालय तथा अन्तर्गतका सबै कार्यालयहरू बन्द नगरी सेवा प्रवाह यथावत राख्ने जानकारी दिएको हो। सूचनामा भनिएको छ, “२०८१/८२ को भुक्तानीको कार्यलाई मध्यनजर गर्दै गाउँपालिकाको कार्यालय तथा अन्तर्गतका कार्यालयहरू बन्द नगरी सेवा प्रवाह गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।”
प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायद्वारा जारी सूचनामा सम्पूर्ण शाखाका प्रमुख तथा कर्मचारीहरूलाई असार १५ गते अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन गर्न आग्रह गरिएको छ।








