काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न नसके पनि महँगी भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुने जानकारी दिए।
“राष्ट्रसेवकहरूको सेवा–सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए तापनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षानुरूप तलब वृद्धि गर्न सम्भव भएन। तथापि, सबै राष्ट्रसेवकहरूका लागि २०८२ साउन १ गतेदेखि लागू हुनेगरी महँगी भत्ता वृद्धि गरी मासिक ५ हजार पुर्याएको छु,” अर्थमन्त्री पौडेलले भने।
यसअघि दुई हजार दिइँदै आएकोमा तीन हजार थपेर पाँच हजार पुर्याइएको हो ।
यो भत्ता वृद्धिले कर्मचारीहरूको जीवनयापनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, तलब वृद्धिको माग लामो समयदेखि उठिरहेको सन्दर्भमा बजेटले कर्मचारीहरूको अपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न नसकेको भन्दै केही असन्तुष्टि पनि व्यक्त भएको छ।