बुटवल । राजस्व अनुसन्धान कार्यालय, बुटवलले सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ । कार्यालयले अग्रहरीमाथि राजस्व छली गरेको अभियोगमा रु. ५३,२७,६४६ बिगो र सोही रकम बराबरको जरिवाना तथा हदैसम्मको कैद सजाय माग गरेको छ ।
कार्यालय प्रमुख विवेक घिमिरेका अनुशार अनुसन्धानका क्रममा सुन्दर प्लाइउड सेन्टरको पसल र गोदामको खानतलासी तथा माल वस्तुको भौतिक निरीक्षण गरिएको थियो । निरीक्षणमा फर्मको मौज्दात किताबमा प्रविष्ट गरिएको परिमाणभन्दा भौतिक रूपमा फेला परेको माल वस्तुको परिमाणमा ठूलो अन्तर देखिएको थियो । केही माल वस्तुको परिमाण बढी र केहीको कम देखिएको, बिजकबिना मालवस्तु खरिद–बिक्री गरेको, बिक्री खातामा अभिलेख नराखेको, बढी फेला परेको माल वस्तुको खरिद र भन्सार पैठारीको कुनै प्रमाण नभएको तथा न्यून बिक्री देखाएर राजस्व छलेको पुष्टि भएको कार्यालयको दाबी छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले गरेको तहकिकातमा अग्रहरीले ऐनको दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिम कसुर गरेको ठहर गरेको छ । अनुसन्धानले भन्सार चोरी पैठारीतर्फ रु. ३,२५,८०७, मूल्य अभिवृद्धि कर (मू.अ.कर) तर्फ अधिक मौज्दातको रु. २,५२,२७८, मू.अ.करतर्फ न्यून मौज्दातको रु. १५.६९,२३६ र आयकरतर्फ रु. ३१,८०,३२५ गरी कुल रु. ५३,२७,६४६ बिगो कायम गरेको छ ।
ऐनको दफा २३ (१) बमोजिम उक्त बिगो असुल, बिगोको शतप्रतिशत रु. ५३,२७,६४६ जरिवाना र दफा २३ (१) (क) बमोजिम हदैसम्मको कैद सजाय माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । यो मुद्दा २०८२ जेठ १४ गते दायर भएको हो ।