काठमाडौँ । मन्त्रिपरिषद्को आज साँझ ६:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले दुई सचिव (विशिष्ट श्रेणी) को बढुवा र तीन सचिवको पदस्थापन गर्ने सम्भावना छ।
केही दिनअघि प्रशासनतर्फ बढुवा भएका सचिव शोभाकान्त पौडेलको पदस्थापनसँगै आज प्रशासन र प्राविधिकतर्फ एक/एक जना गरी दुई सचिवको बढुवा र पदस्थापन हुने जनाइएको छ। पौडेललाई अघिल्लो बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रिक्त सचिव पदका लागि बढुवा गर्दै तत्कालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा पदस्थापन गरिएको थियो ।
त्यसैगरी, महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेको अवकाशपछि रिक्त सचिव पदका लागि सहसचिवहरू भूपाल बराल, डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस भएको छ। आजको बैठकले तीमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ।
बढुवा र पदस्थापनका क्रममा प्रदेश र संघीय सरकारका कम्तीमा आधा दर्जन सचिवको सरुवा हुने सम्भावना छ। प्रचलनअनुसार नयाँ बढुवा भएका प्रशासनतर्फका दुई सचिवको प्रदेशमा पदस्थापन हुने र लामो समयदेखि प्रदेशमा कार्यरत दुई प्रमुख सचिवलाई संघीय मन्त्रालयमा ल्याइने छ। प्राविधिकतर्फ भने जल तथा ऊर्जा आयोगको सचिवालय वा अन्य प्राविधिक निकायमा पदस्थापन वा सरुवा गरिने छ।
पदस्थापन र सरुवाको क्रममा तीनको पदस्थापनसँगै कम्तीमा दुईदेखि आधा दर्जनसम्म सचिवको सरुवा हुन सक्ने र परिस्थितिअनुसार यो संख्या एक दर्जनसम्म पुग्न सक्ने सिंहदरवारस्थित प्रशासन विशेष ब्युरोलाई जानकारी प्राप्त भएको छ ।







