काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् ।
रास्वपाले गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्रीले यथाशीघ्र पदबाट राजीनामा दिनुपर्ने स्पष्ट माग गरेको हो ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ,’
यसैबीच, गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै गृहमन्त्री लेखकको कुनै संलग्नता नभएको स्पष्ट पार्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भइरहेका छानबिनहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ।
