ललितपुर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरले आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर अमित कुमार सहनीविरुद्ध सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। उच्च सरकारी वकिल कार्यालय, पाटनले मिति शुक्रवार अभियोग पत्र दायर गरेको हो।
विभागका अनुसार सहनीले नेपाल-भारत सीमा नाका भैरहवाको आसपास क्षेत्रबाट चोरी पैठारीजन्य आर्थिक गतिविधिमार्फत गैर कानुनी आयआर्जन गरेको र उक्त रकम विभिन्न बैंक खाताहरूमा जम्मा गरी भारतमा एटिएममार्फत प्रयोग गरेको पाइएको छ। उनले जालसाजीपूर्ण गैर कर विजक(लुज बील) जारी गरी लत्ताकपडा लगायतको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।
आर्थिक वर्ष २०६७/६८ देखि २०७५/७६ सम्मको अवधिमा सहनीले नेपालका विभिन्न बैंक खाताहरूबाट भारतमा एटिएम मार्फत दुई करोड तीन लाख सतसट्ठी हजार दुई सय निकालेको र यो रकम राजस्व चुहावटबाट प्राप्त भएको विभागको ठहर छ। थप अनुसन्धानबाट सहनीले कुल दश करोड चवालीस लाख चालीस हजार सत्र रुपैयाँ बीस पैसा सम्पत्ति शुद्धीकरण गरेको तथ्य पुष्टि भएको विभागको भनाई छ ।
यो कसुर प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (पहिलो संशोधन, २०६८ र दोस्रो संशोधन, २०७०) को दफा ३, ४, र ३० अन्तर्गत निषेधित कार्य भएको ठहर गर्दै विभागले बिगो रकम दश करोड चवालीस लाख चालीस हजार सत्र रुपैयाँ बीस पैसा कायम गरेको छ।
सहनीविरुद्ध उक्त बिगोको दोब्बर जरिवाना र कैद सजायको माग दाबी गरिएको छ।