जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले खुल्ला सिमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिए ।
गृहमन्त्री लेखकले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । “देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ । उल्लेखित समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरुरी छ”, उनले भने ।
गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुन विपरीत आर्थिक लोभ र लाभमा नपरी इमानदारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिए ।