काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक जना सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवत्रय भुपाल बराल, डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीको नाम सिफारिस गरेको प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी प्राप्त भएको छ ।
पहिलो नम्बरमा सिफारिस बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् भने घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सुवेदी लोक सेवा आयोगमा कार्यरत छन् ।
महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे अवकाश भएसँगै एक सचिव पद रिक्त भएको थियो।
सम्बन्धित समाचार : सचिव पाण्डे अवकाश
अब बस्ने मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई सचिवमा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्नेछ ।
केही दिन अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि रिक्त सचिव पदमा बढुवा भएका शोभाकान्त पौडेलको पनि पदस्थापन बाँकी नै रहेकोले उनीसहित अब बढुवा हुने सचिवहरूलाई प्रदेश प्रमुख सचिवमा पदस्थापन गर्दै प्रदेशका दुई सचिव संघमा भित्र्याइने छन् ।