सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-४ मा बाढी पहिरोका कारण यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । बिहीबार राति आएको बाढी पहिरोले सभा पोखरी गाउँपालिकामा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको सभा पोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईँले जानकारी दिइन् ।
गए राति वर्षासँगै आएको बाढी पहिरोका कारण सभा पोखरी गाउँपालिका-३, ४ र ६ लगायतका वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईँले बताइन् । बाढी पहिरोले विभिन्न वडाका सडक र विद्युत् पोल बगाएको छ । बाढीले पोल बगाएपछि त्यस क्षेत्रमा आज बिहानदेखि सेवा अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चापागाईँले बताइन् ।
बाढीले सभा पोखरी गाउँपालिका–४ मा निर्माणाधीन २१ मेगावाटको सभा पोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । बाढी सभा पोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढी पहिरोले सभा पोखरीका विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षति विवरण संकलन थालिएको छ । त्यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेका कारण विवरण संकलनमा कठिनाइ भएको उनको भनाइ छ ।