काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बोर्डका अध्यक्षले हाइड्रोपावरको आईपीओको अनुमति दिँदा कमिसन मागेको भन्ने विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)सँग जवाफ मागेको छ ।
बोर्डले निर्णय नै गरेर इप्पानसँग कमिसन मागेको विषयमा पत्र पठाएर जवाफ मागेको हो ।
बोर्डको वैशाख २५ गते बसेको बैठकले कमिसन मागेको विषयमा जवाफ माग गर्नै निर्णय गरेको धितोपत्र बोर्डले जनाएको छ ।
इप्पानलाई लेखिएको पत्रमा भनिएको छ, ‘केही सञ्चारमाध्यमहरूमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्षलगायत अन्य पदाधिकारीलाई उद्धृत गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई जोडेर प्रकाशित धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्न निश्चित प्रतिशत कमिसन माग्ने गरेको समेतका आरोपहरूको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । बोर्ड अध्यक्षको सम्बन्धमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल जस्तो जिम्मेवार संस्थाका अध्यक्षलगायत अन्य पदाधिकारीको नाम नै उद्धृत गरी यस्तो प्रकारको आरोप आएको सन्दर्भमा सो आरोपका सम्बन्धमा कुनै आधार वा तथ्यगत विवरण भएमा उपलब्ध गराउन तथा इप्पानको आधिकारिक धारणासमेत उपलब्ध गराउनुहोला ।’