काठमाडौँ । नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ ।
ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार परराष्ट्र मन्त्री डा. आरजु राणालाई हस्तान्तरण गरे ।
मित्रता र सद्भावनाको एक महत्त्वपूर्ण संकेतका रूपमा ईभी उपहार दिइएको भारतीय दूतावासले जनाएको छ ।
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा २-४ जेठमा काठमाडौँमा हुन लागेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न नेपाल सरकारलाई लजिस्टिक सहयोगका लागि भारतका तर्फबाट उपहार स्वरूप यी सवारीसाधन प्रदान गरिएको हो ।
कर्भ ईभी हस्तान्तरण समारोहमा बोल्दै राजदूत श्रीवास्तवले यी सवारीसाधनले संवादको समयमा अतिथि र अधिकारीको आवागमन सहज बनाउन मद्दत गर्ने कुरा उल्लेख गरे ।
उनले सन् २०२२ मा संघीय र प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले कानुन कार्यान्वयन गर्ने निकाय र निर्वाचन आयोगलाई प्रदान गरेको यस्तै लजिस्टिक सहयोगको स्मरण गरे।
सवारीसाधन ग्रहण गर्दै परराष्ट्र मन्त्री राणाले संवाद आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् ।
उनले भारतको भूमिकालाई नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारमध्ये एकका रूपमा स्वीकार गरिन् ।
भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनताबीच निकटता प्रतिबिम्बित गर्ने उनको भनाइ थियो ।