काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको बताएका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको बताए।
उनले भारतको कारबाही थेग्न नसकेपछि पाकिस्तानले संसारसँग गुहार मागेको बताए। सोही क्रममा १० मेमा पाकिस्तानी पक्षले भारतीय पक्षसँग सम्पर्क गरेर युद्ध रोक्न आग्रह गरेको उनको भनाइ छ।
‘पाकिस्तानले तनाव कम गर्न संसारभरि गुहार लगाइरहेका थिए। तबसम्म हामीले पाकिस्तानमा रहेको आतंकवादको संरचनालाई ध्वस्त पारिसकेका थियौँ। आतंककारीहरू मारिएका थिए। पाकिस्तानको मुटुमा बस्ने आतंकी अड्डालाई खण्डहर बनाइदिएका थियौँ। त्यसपछि पाकिस्तानबाट गुहार लगाइयो। उसबाट अगाडि कुनै आतंकी र सैन्य दुस्साहस नदेखाउने प्रतिबद्धता जनाइयो। अनि भारतले पनि विचार गर्यो। म फेरि दोहोर्याए भन्छु, अपरेसन सिन्दूर अहिले स्थगित मात्र गरेका हौँ, ’उनले भने।
उनले पाकिस्तानको व्यवहारमा आगामी रणनीति तय गरिने बताए। ‘हामीले अपरेसन सिन्दूरलाई अहिले स्थगित मात्र गरेका छौँ। पाकिस्तानको प्रत्येक कदमलाई हामीले नियालिरहेका छौँ। उसको व्यवहारअनुसार नै हामी अगाडि बढ्नेछौँ, ’उनले भने।