काठमाडौँ । सिरहाको लहान नगरपालिका-१२ स्थित ऐतिहासिक तथा धार्मिक सलहेश फूलबारी नजिकै निर्माण गर्न लागिएको भीमराव अम्बेडकर पार्क स्थानान्तरण गर्न सलहेश फूलबारी संरक्षण संघर्ष समितिले मधेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
समितिका मधेश प्रदेश संयोजक मोहन पासवान नेतृत्वको टोलीले मधेश भवन पुगेर मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएर यस्तो माग गरेको हो ।
मुख्यमन्त्री सिंहलाई समितिले बुझाएको ज्ञापन पत्रमा सलहेश फूलबारीसँगै निर्माण गर्न लागिएको अम्बेडर पार्क सर्वस्वीकार्य ठाउँमा कम्तीमा १० कट्ठा बढी जग्गामा स्थानान्तरण गर्नुपर्ने सहितका ९ बुँदै माग राखेको छ ।
सलहेश फूलबारीसँगै टाँसिएको १० धुर जग्गामा मधेश सरकारले भारतीय नेता स्व. भीमराव अम्बेडकरको नाममा पार्क निर्माण गर्न लागेको छ । जीतेन्द्रसिंह धामीले दान दिएको जग्गामा अम्बेडकर पार्क निर्माण गर्न मधेश सरकारले ८० लाख बजेट दिएको छ ।
पार्कको शिलान्यास मधेशका मुख्यमन्त्री सिंह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १५ मा गरेका थिए । अम्बेडकर पार्कको शिलान्यास भएपछि विरोध भएको थियो ।
राजा सलहेशको गाथा र वीरतासँग जोडिएको ऐतिहासिक तथा धार्मिक सलहेश फूलबारीको इतिहास मेट्न षड्यन्त्र गरेको भन्दै पार्क निर्माणको विरोध पासवान समुदायले गरेको छ । राजा सलहेश पासवान समुदायको कुल देवता हुन् । त्यसैले सो समुदाय सलहेश फूलबारीको संरक्षण गर्न समिति बनाएर संगठित बनेको छ ।
समितिले बाबा साहेब डा. भीमराव अम्बेडकरप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै अम्बेडकरको नाममा देशभर पार्क निर्माण हुनु स्वागतयोग्य रहे पनि सलहेश फूलबारी जस्तो विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थलमा यस्ता संरचना निर्माण गर्नु असान्दर्भिक र असंवेदनशील भएको ठहर गरेको छ ।

