काठमाडौँ । सुदूरपश्चिमका पर्यटन गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मार्ट उद्घाटन गरे । उक्त अवसरमा उनले नीति, संरचना र व्यवहारमा सुधार आवश्यक रहेको बताए ।
मन्त्री पाण्डेले सीमित बजेटबीच पर्यटन विकासमा सरकार गम्भीर रूपमा लागिरहेको दाबी गरे । यस वर्ष २० प्रतिशत पुँजीगत बजेट घटेको जानकारी दिँदै उनले भने, ‘तर, हामी बजेट सदुपयोग गर्दै नीतिगत सुधारमा केन्द्रित छौँ ।’
पर्यटन विकासमा नीति र संरचना सुधार मात्र पर्याप्त नहुने भन्दै उनले प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए । मन्त्री पाण्डेले विदेशी पर्यटक नेपाल आउने र फेरि आउने वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको बताए ।
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उनले वन, गृह, परराष्ट्र, उद्योग लगायत मन्त्रालयसँग सहकार्य गरिरहेको जानकारी दिए ।
सुदूरपश्चिम क्षेत्रमा अझै पर्यटकीय गतिविधि कम रहेको स्विकार्दै मन्त्री पाण्डेले पूर्वी नेपाल र मध्य नेपाल जस्तै सुदूरपश्चिमको पर्यटन पनि चलायमान बनाउन आवश्यक रहेको धारणा राखे ।
‘सगरमाथाका कारण पूर्वको पर्यटन चलायमान छ, पोखरा, मुक्तिनाथ, चितवन र बर्दिया पनि चलायमान छन्, अब सुदूरपश्चिमका पर्यटकीय गतिविधि सशक्त बनाउन आवश्यक छ,’ उनले भने ।
सरकार पूर्वाधार विकासमा पनि जुटिरहेको बताउँदै मन्त्री पाण्डेले मझगाउँ विमानस्थल निर्माण कार्य भइरहेको र धनगढी विमानस्थल स्तरोन्नति तथा पोखरा विमानस्थलबाट सातै प्रदेशमा नियमित उडान सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिए ।
पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने धारणा राखे । विदेशी लगानी भित्र्याउन कानुनी सुधार र लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।
भारतीय पर्यटकको ठूलो सम्भावना पहिचान गर्दै मन्त्री पाण्डेले नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक समानता सदुपयोग गर्नुपर्ने धारणा राखे ।
‘भारतको ठूलो जनसंख्याबाट हामीले लाभ उठाउनुपर्छ, हाम्रो प्राकृतिक र धार्मिक दृष्टिले समानता छ,’ उनले भने ।
सुदूरपश्चिमका नयाँ पर्यटन गन्तव्य पहिचान र प्रवर्द्धनमा सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री पाण्डेले नयाँ गन्तव्य पहिचान गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा लागिरहेको दाबी गरे । शक्तिपीठ संरक्षण तथा प्रवर्द्धन र कर्णाली तथा महाकाली नदीमा र्याफ्टिङ विकासमा काम भइरहेको उनले जानकारी दिए ।