काठमाडौँ । पानी पर्न थालेकाले डेंगु संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगु सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन्।
उनले भने, “पानी जम्मा हुँदा त्यसमा डेंगु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेंगु सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।”
पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगु रोग लाग्ने गर्दछ ।
शाखा प्रमुख डा. दाहालले गत वर्ष धेरै डेंगु सङ्क्रमण भएका ३५ स्थानीय तहमा संक्रममण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।