विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा प्रशासनिक लापरबाहीको एउटा दृश्यले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। क्याम्पसका सूचना अधिकारी राजेश कुमार यादवको कार्यकक्षमा टेबुलमै कुकुर सुतिरहेको तस्बिर सार्वजनिक भएसँगै क्याम्पसको व्यवस्थापन र अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ।
यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि विद्यार्थी, अभिभावक र सर्वसाधारणले क्याम्पस प्रशासनको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्। सूचना अधिकारीको कार्यकक्ष, जहाँ शैक्षिक र प्रशासनिक गतिविधिको समन्वय हुन्छ, त्यस्तो संवेदनशील ठाउँमा कुकुरको उपस्थितिले क्याम्पसको सुरक्षा व्यवस्था र स्वच्छतामाथि प्रश्न चिन्ह खडा गरेको छ।
“विद्यार्थीका सरोकार र सूचना प्रवाहको जिम्मेवारी बोकेको कार्यकक्षमा यस्तो अवस्था देखिनु लज्जास्पद छ,” एक विद्यार्थीले आक्रोशित हुँदै भने। “क्याम्पसमा सुरक्षाकर्मी र व्यवस्थापनको कमीले यस्तो स्थिति आएको हो।”
सामाजिक सञ्जालमा तस्बिरले व्यापक आलोचना निम्त्याइरहेको छ।
यस विषयमा क्याम्पस प्रशासनले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, विद्यार्थी र अभिभावकको चासो र सामाजिक सञ्जालमा आलोचना बढ्दो छ । यसबारे सूचना अधिकारीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।
हेर्नुहोस् टीयू स्टुडेन्ट पेजले सेयर गरेको फोटो :