काठमाडौँ । गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौँ फर्किएको छ ।
हेटौँडा उपमहानगरपालिका-१६ स्थित गैरीगाउँको भित्री सडक खण्डमा डुबेको गाडी अझै फेला परेको छैन ।
भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा गएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको छ ।
प्रारम्भिक कार्य सम्पन्न गरी भूगर्भविद्हरू बुधबार काठमाडौँ फर्किएका हुन् । टोलीले संकलन गरेका तथ्य र नमुनाको प्रयोगशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएका छन् ।
करिब पाँच दिनअघि सो स्थानमा ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी जमिनमुनि भासिएको थियो । पाँच दिन बितिसक्दापनि गाडी फेला नपरेको अवस्थामा चालू अनुसन्धान थप चासोको विषय बनेको हो ।