काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्।
उनले नीति तथा कार्यक्रममा अलमल रहेको र यसको कुनै औचित्य नभएको बताएका छन्। उनले विगतका सरकारले नीति तथा कार्यक्रममाथि छलफल गर्दा नेपाली जनताको भावना बुझेर प्रस्तुत गर्ने गरेको दाबी गर्दै वर्तमान सरकारले त्यसो गर्न नसकेको आरोप उनले लगाएका छन्। उनले अहिलेको सरकारले ल्याएको नीति विभेदकारी भएको समेत टिप्पणी गरेका छन्।
उनले विभिन्न आधारहरू तय गर्न नसक्दा समाजवादको यात्रालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रश्न पनि उठाएका छन्। अध्यक्ष यादवले वर्तमान सरकार अप्राकृतिक रूपमा र बिचौलियाको आधारमा बनेको आरोप दोहोर्याएका छन्।
उनले भने, ‘यो नीति तथा कार्यक्रम निराशाजनक छ। यो अलमलमा छ। यो कर्मकाण्डी हो। यसको औचित्य छैन। विगतको सरकारले छलफल गराउँदा सम्पूर्ण नेपाली जनताको भावनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विधि र प्रक्रियाबाट सम्बोधन गर्ने गर्थ्यो। यो पालि सरकारले त्यसो गर्न सकेन। यो नीति विभेदकारी हो। विगतको सरकारले मानव सूचकाङ्कको आधारमा नीति तथा कार्यक्रम बनाउने र बजेट विनियोजन गर्ने गर्थ्यो, यसपालि यो नीतिले त्यो सम्बोधन गरेको देखिँदैन।’
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकमा उत्साह थप्न नसकेको टिप्पणी पनि गरेका छन्।