काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले चुच्चे नक्साबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा खोजेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति ता कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा पूर्वराजा ज्ञानेन्द्रले वक्तव्यसम्म ननिकालेको स्मरण गरेका छन् ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश गर्दा सिंगो राष्ट्र एक भएर उठ्यो । औँसी, पूर्णिमामा पनि वक्तव्य निकाल्नुहुन्छ भूतपूर्वराजा तर त्यो बेलामा उहाँको वक्तव्य कतै सुनिएन,’ एमाले सांसद रिजालले भने ।
एमाले सांसद रिजालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई राजसंस्थाको एजेण्डा छाड्न समेत आग्रह गरे ।
२०४६ सालमा पञ्चायती व्यवस्था बिदा भएको र बहुदल आएको स्मरण गदै उनले भने, ‘त्यो बेलाका राप्रपा नेताहरूलाई म धन्यवाद दिन्छु-परिवर्तनलाई आत्मसाथ गर्नुभयो । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्नुभयो, राप्रपा अहिले अस्तित्वमा छ परिवर्तनलाई स्वीकार गरेर ।’
अब गणतान्त्रिक राप्रपाले आफ्नो पार्टीको नाममा गणतन्त्र जोड्नु उपयुक्त हुने उनले सुझाए छ ।
‘अहिले सुझाव दिन्छु-पार्टीको नाम गणतान्त्रिक राखे हुन्छ । परिवर्तनलाई स्वीकार र आत्मसाथ गर्नुपर्दैन ?’ उनको प्रश्न छ । राप्रपाको नाम बदलेर राष्ट्रिय संघीय लोकतान्त्रिक गणतन्त्र पार्टी राखे पनि हुने उनको आग्रह छ ।