काठमाडौँ । स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्। स्रोत नखुलेको रकमसहित भारतको उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
भजनी नगरपालिका-५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रुपैयाँसहित उनी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने अर्मन चौधरीलाई स्रोत नखुलेको नगद ५ लाख ३१ हजार ४ सय भारतीय रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।