काठमाडौँ । नेपाल सरकारका नीति निर्माणमा संलग्न अधिकारीलाई लक्षित गरी सञ्चालन गरिएको ८ महिने ‘नेपाल पोलिसी लिडरसिप प्रोग्राम (एनपीएलपी)’ समापन भएको छ ।
नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) को आयोजनामा सञ्चालित तालिम कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो ।
एनपीआई अध्यक्ष ड. खगेन्द्रराज ढकालले ८ महिनाको कार्यक्रम उपलब्धिमूलक भएको बताए । उनले यो कार्यक्रममा व्यावहारिक रूपमा नीति निर्माणसँग सम्बन्धित तरिका सिकाइएको समेत जानकारी दिए । सहभागीको आलोचनात्मक सोच सिप विकास गरिन खोजिएको उनको भनाइ छ ।
कार्यक्रममा कार्यकारी सदस्य तथा पूर्वसचिव गोपीनाथ मैनालीले काठमाडौं विश्वविद्यालय र नेपाल सरकारसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर हुने बताए ।
एनपीएलपी तीन चरणमा सम्पन्न भएको उनले जानकारी दिए । जसमा प्रि-रेसिडेन्सी, रेसिडेन्सी र पोस्ट–रेसिडेन्सी सत्र समावेश थिए । पोस्ट-रेसिडेन्सी सत्रमा सहभागीले आफ्ना कार्यक्षेत्रमा सिकेका सिप प्रयोग गर्ने अवसर पाउने व्यवस्था गरिएको थियो । आवश्यक परे एनपीएलपी टिमबाट सहकार्य र समर्थन प्राप्त हुने व्यवस्था पनि गरिएको थियो । यस चरणमा एक्सन लर्निङ कम्पोनेन्ट पनि समावेश गरिएको थियो ।
उनका अनुसार एनपीएलपीमा ९ प्रशिक्षकले सहजीकरण गरेका थिए । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी थिए । एनपीएलपीका सहजकर्ताको संयोजन डा. गम्भीर भट्टले गरेका थिए । डा. खगेन्द्र ढकाल, डा. गोपी खनाल, गोपी मैनाली, सारू जोशी, डा. पूर्ण नेपाली, डा. प्रमोद जोशी र सम्झना श्रेष्ठ लगायत नेपाली मूलका विज्ञले विभिन्न मोड्युलको सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा १६ मन्त्रालयको प्रतिनिधित्व गरेका नेपाल सरकारका सहसचिव, उपसचिव र अधिकृत सहित २५ सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।