काठमाडौँ। नेकपा एमाले धनुषाको ८ औँ अधिवेशनमा दुई समूहबीच कुटाकुट भएपछि अधिवेशन स्थल जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।
विधान विपरीत उम्मेदवारी परेको विषयमा विवाद भएपछि दुई समूहबीच कुटाकुट भएको हो । कुटाकुटको क्रममा कुर्सी हानाहान समेत भयो । त्यसपछि दुवै समूह प्रदर्शनमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको छ ।
तनावपछि अहिले निधि भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । निधि भवन परिसर र सभा हलमा करिब सयौँको संख्यामा प्रहरी परिचालन भएको देखिन्छ ।
मधेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’ समूहले विधान विपरीत परेको उम्मेदवारी खारेज गर्नुपर्ने भन्दै निर्वाचन समितिमा उजुरी दिएको थियो । तर एमाले सचिव रघुवीर समूहले खारेज गर्न नहुने अडान लिएका छन् ।
अहिले निधी भवनको सभा हलमा मण्डल, अरगरिया र झा समूहका अधिवेशन प्रतिनिधिहरू धर्ना बसेका छन् । धाँधलीरहित निष्पक्ष र शान्तिपूर्ण ढंगले निर्वाचन हुनुपर्ने अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताएका छन् ।
निधि भवन बाहिर भने रघुवीर समूहका अधिवेशन प्रतिनिधिहरू प्रदर्शन गरिरहेका छन् । एक नेताका अनुसार अहिले दुवै पक्षका नेताहरू आपसमा बसेर विवाद समाधान गर्ने वातावरण बनेको छ । सम्भवतः आज मतदान स्थगित हुनेछ ।