काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जनशक्ति थपिने भएका छन् ।
बोर्डका लागि मन्त्री पौडेलले अधिकृत स्तरका ५६ तथा सहायक स्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए । हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्र बाँकी दाबीमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।
यसले ती अस्पतालहरूले सञ्चालनमा खेपिरहेको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
“संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालमा सहजता आउने विश्वास गरिएको छ”, उनले भने ।