काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्य विभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् ।
उनले तीनै तहका सरकारले आगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रमलाई समावेश गर्न सक्नुपर्ने बताए।
उनले अघिल्ला वर्षहरूमा नीति तथा कार्यक्रमहरू अत्यधिक महत्वाकांक्षी बनाइँदा कार्यान्वयनमा समस्या आएको पनि बताए । नीति तथा कार्यक्रम यथार्थपरक र तीन तहका कामको स्पष्ट आधारमा बनाइएको उनको भनाइ छ । उनले युवामुखी स्टार्टअप व्यवसाय, कृषिको आधुनिकीकरण, उत्पादन र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
उनले भने,‘‘स्थानीय तह, प्रदेश सरकार र संघीय मन्त्रालयहरूले आफ्नो बजेटमा नीति तथा कार्यक्रमअनुरूप जानुपर्यो । हामीले युवाहरूलाई सम्बोधन हुने गरेर स्टार्टअप बिजेनशका कुराहरू ल्याएका छौँ । कृषिको आधुनिकीकरणको विषयहरू समावेश भएको छ । त्यसैगरी, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्ने विषयहरू छन् । यहीअनुसार कार्यक्रम गर्न सकियो भने समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा हुन्छ र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । विगतको नीतिमा कार्यक्रमहरू समावेश भएर आउने गर्दथ्यो । अलि महत्वाकाक्षीजस्तो हुन्थ्यो । त्यसले गर्दा जनतामा अपेक्षा पनि अलि बढी हुन्थ्यो । तर हामीले बजेटमा समावेश गर्न सक्ने खालको हुँदैनथ्यो । अहिले हामीले तीन तहको कामअनुसार नीति बनाएको हुनाले यही आधारमा टेकेर नीति तथा कार्यक्रमहरू बनाउनुपर्ने हुन्छ ।’’