काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ ।
पदवहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको दाबी गरेका छन् ।
वडाका हिसाबले ९५ प्रतिशत विद्युत् पहुँच पुगेको उनले बताएका छन् । घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको प्राधिकरणले बताएको छ ।
फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २ हजार ४३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।
माग र आपूर्तिको असन्तुलनले वर्षा यामको विद्युत् खेर गएको र सुख्खायाममा विद्युतको माग बढ्दा पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको उनको भनाइ छ ।
‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपण अनुसार २०८२/८३ मा वर्षा याममा २ हजार ६४८ मेगावाट , २०८३/८४ मा ३ हजार ३१६ मेगावाट विद्युत् जगेडा रहनेछ,’ शाक्यले भने, ‘यो निर्यात हुनुपर्ने देखिएको छ । तर, त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र २०८३/८४ मा ७२८ मेगावाट अपुग आयात गर्नुपर्ने देखिन्छ ।’
शाक्यले आगामी दिनमा विद्युत् आयात शून्य नहुने पनि बताए । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उनको भनाइ थियो ।
शाक्यकाअनुसार यसको दिगो समाधान र ऊर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण गर्नुपर्छ ।
यससँगै विद्युत् खपतको वार्षिक वृद्धिदर हालको १२-१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्याउन सबै प्रयास गर्नुपर्ने उनले बताए ।