काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ ।
शुक्रबार प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऋण लिन लागिएको जानकारी दिएका हुन् ।
उनले भने, ‘हामीसँग क्यास ब्यालेन्स छैन रहेछ । १० अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृति लिन पत्र पठाइसकेका छौँ । यसका लागि प्रक्रिया अगाडी बढिसकेको छ ।’
कार्यकारी निर्देशक शाक्यका अनुसार अनुसार चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रहेको छ । जुन भुक्तानी दिन सकिएको छैन ।
हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर ने.रू. मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ । २ अर्ब ४७ करोड कलरचालू खातामा रहेको छ ।
जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा हो । यसका लागि बाँकी भुक्तानीको जगेडा नरहेको हुँदा १० अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।