काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडे कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको निष्कर्ष निकालिएको छ ।
काठमाडौँ महानगरपालिकाले युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा जनकल्याण माध्यमिक विद्यालय, बौद्धको बहुउद्देश्यीय सभा कक्षमा आयोजना गरेको ‘नव प्रवर्तनका कोणबाट शैक्षिक नीति र अभ्यासको अनुकूल र प्रतिकुल परिस्थिति’ विषयक गोलमेचबाट यस्तो निष्कर्ष आएको हो ।
एउटै गोलमेचमा वरिपरि बसेर संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, बहुक्षेत्रीय साझेदार, स्रोत शिक्षक, शिक्षा अधिकृत र विद्यालय निरीक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका प्रतिनिधिहरूले आपसी अभ्यास आदानप्रदान गरेका थिए ।
आफूले कार्यान्वयनमा ल्याएका अभ्यास र आफूले सुनेका नवीनतम शैक्षिक अभ्यासको अनुकूलता र प्रतिकूलताको विश्लेषण र आगामी दिशा कस्तो हुनुपर्छ भन्ने विषयमा आपसी कुराकानी भएको भयो ।
नवीनतम शैक्षिक कार्यक्रमको प्रतिनिधि कथाका रूपमा महानगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ ९पुस्तकरहित शुक्रबार० लाई राखिएको थियो । कार्यक्रम कार्यान्वयन गर्न तर्जुमा गरिएका नीतिगत प्रबन्ध, यसको कार्यान्वयन प्रक्रियामा बजेट, योजना तथा कार्यक्रम कार्यान्वयनको अभ्यास प्रस्तुतिपछि उसलाई उदाहरण कथा बनाइएको थियो ।
कार्यक्रमका विषयमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा र शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीले संयुक्त प्रस्तुतीकरण गरेका थिए ।
शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’ महानगरपालिकाले लगानी बढाएको छ ।
‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भएका छन् ।
प्रस्तुति अनुसार सिर्जनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सिप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ ।
शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसइईमा ७८ प्रतिशत नतिजा आएको छ । नोग्रेडेड परीक्षामा सहभागीमध्ये ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
स्वर्णिम योजना सुन्दर विद्यालयले वातावरणीय सुधार, स्वच्छता र सरसफाइका लागि काम भएको छ । स्वर्णिम योजना रचनात्मक विद्यालयले खेललाई शिक्षासँग जोडेर सञ्चालन गरिने कार्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुगेको छ ।
कक्षा कोठाहरूमा स्मार्ट बोर्ड, ल्यापटपसहित सूचना प्रविधिका उपकरण प्रदान गरेर सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिन्छ । शिक्षकहरूको क्षमता विकासका लागि टिचर्स कलेज कार्यक्रम, विषयगत तालिम सञ्चालन गरिएको प्रस्तुतिमा उल्लेख थियो ।